जनताका समस्या बुझ्न वडा केन्द्रित एमाले

दैलेख : जनताका समस्या पहिचानसँगै वडा स्तरमा पार्टीको अवस्था बुझ्न एमाले दैलेखले यहीँ माघ १४ गतेदेखि जिल्लामा वडा केन्द्रित अभियान सञ्चालन गरेको छ । पाटीको राष्ट्रिय नीति अनुसार तीन महिनासम्म सञ्चालन हुने अभियान अन्तर्गत दैलेखमा एमालेले जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतादेखि टोल स्तरका नेताहरूलाई वडा केन्द्रित अभियानमा परिचालन गरेको हो ।

वडा केन्द्रित अभियान अन्तर्गत पहिलो चरणमा एमाले दैलेखले यहाँका ११ वटै स्थानीय तहमा पालिका कमिटीका बैठक सम्पन्न गरेको छ । तीन महिनासम्म सञ्चालन हुने अभियान मार्फत वस्ति स्तरमा रहेका जनताका समस्या पहिचानदेखि समाधानसम्म पहल गर्ने उद्देश्यले पार्टी केन्द्रको नीति अनुरूप माघ १४ गतेदेखि दैलेखमा वडा केन्द्रित अभियान सञ्चालन गरिएको एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले बताए ।

तीन महिनासम्म सञ्चालन हुने वडा केन्द्रित अभियानले पार्टीलाई बलियो बनाउने उद्देश्य राखिएको जनाइएको छ । ‘पार्टी केन्द्रको नीति अनुसार माघ १४ गतेदेखि एमाले दैलेखले वडा केन्द्रित अभियान सञ्चालनमा ल्याएको छ । अभियान अन्तर्गत पहिलो चरणमा पालिका कमिटीका बैठक सम्पन्न भएका छन् । तीन महिनासम्म टोल स्तरमा पुगेर जनताका समस्या पहिचान गर्ने छौँ ।,’ अध्यक्ष शाहीले भने ।

वडा केन्द्रित अभियान यहाँका ११ स्थानीय तहका ९० वडाका टोलसम्म सञ्चालन हुने जनाइएको छ । अभियान मार्फत जनताका समस्यासँगै टोल–टोलमा पार्टीको अवस्थाको पहिचान गरिने छ । एमाले भन्दा बाहिर रहेका नागरिकको समस्या पहिचान गरी उहाँहरूलाई पार्टीका ऐक्यबद्धता गराउने वडा केन्द्रित तीन महिने अभियानको उद्देश्य रहेको अध्यक्ष शाहीको भनाई छ ।

तीन महिने वडा केन्द्रित अभियानले आगामी निर्वाचनमा पार्टीको मतभार बढाउन ठुलो मदत गर्ने अपेक्षा राखिएको एमाले दैलेखमा सचिवालय सदस्य यामनारायण उपाध्यायले बताए । अभियान मार्फत अहिलेको एमाले नेतृत्वको सरकारले जनताका हितमा गरेका कामको प्रचार गर्नु समेत रहेको जनाइएको छ । तीन महिना सञ्चालन हुने वडा केन्द्रित अभियान चैतमा सम्पन्न हुने सचिवालय सदस्य उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार